काठमाडौं । रसुवामा हालै आएको बाढीपहिरोबाट विस्थापित परिवारहरूको पुनर्निर्माण तथा पुनर्स्थापना सहयोगार्थ हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’ को विशेष प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी नोभेम्बर १, आइतबार साँझ ५ बजे, हुङ होम, काउलुनस्थित सनबिम वाम्पो सिनेमा हलमा प्रदर्शन गर्न लागिएको हो।
११औँ एनआरएनए डेको अवसरमा आयोजना हुन लागेको प्रदर्शनमा ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ नारा राखिएको छ । प्रदर्शनमार्फत दर्शकलाई सगरमाथाको रोमाञ्चक यात्रा र नेपालको हिमाली सम्पदाबारे जानकारी गराउनुका साथै बाढीपहिरोबाट प्रभावित रसुवाका परिवारहरूको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग जुटाउने उद्देश्य राखिएको छ।
एनआरएनए हङकङले बिहीबार प्रदर्शनको घोषणा गर्दै पोस्टर सार्वजनिक गरेको छ। एनआरएनए हङकङका महासचिव इन्द्र पुनले नेपालीले आफ्नै लगानी र सीमित स्रोतसाधनका बाबजुद आफ्नै कथा आफैँ भन्ने प्रयासलाई समर्थन गर्नु सबैको दायित्व भएको बताए। उनले हङकङमा रहेका नेपाली नयाँ पुस्ताका बालबालिका तथा युवालाई सगरमाथा र नेपालको हिमाली सम्पदाबारे बुझ्न वृत्तचित्र हेर्न आग्रह समेत गरे।
वृत्तचित्र प्रदर्शनकी संयोजक तथा एनआरएनए हङकङकी उपाध्यक्ष कविता गुरुङले पहिलो प्रदर्शन सफल भएपछि दर्शकको मागलाई सम्बोधन गर्न पुनः प्रदर्शन आयोजना गर्न लागिएको बताइन्।
५० मिनेट लामो ‘रोड टु एभरेष्ट’ वी विल राइज फाउन्डेसनद्वारा निर्मित वृत्तचित्र हो। वृत्तचित्रमा समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको यात्रामार्फत पर्वतारोहण, मानवीय साहस, नेपाली हिमाली सम्पदा र जलवायु परिवर्तनका विषयलाई प्रस्तुत गरिएको छ ।






