द प्रोफेसनल गाइजको फरक प्रचार शैली

काठमाडौं । फिल्म ‘द प्रोफेसनल गाइज’ ले आफ्नो प्रचार अभियानलाई नयाँ शैलीमा अगाडि बढाएको छ। गत साता फिल्मको शीर्षक सार्वजनिक गरेको निर्माण टिमले तीन फिल्ममेकर मार्टिन भण्डारी, अमन श्रेष्ठ र डार्विन श्रेष्ठको रोचक यात्रामा आधारित प्रमोशनल स्किट ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ।

मार्टिन, अमन र डार्विनको नामबाट बनेको ‘एमएडी’ पहिचानलाई केन्द्रमा राखेर तयार पारिएको स्किटमा फिल्मको सुरुवात कसरी भयो र तीनजनाको सहकार्यले कसरी आकार लियो भन्ने कथा हास्य तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ।

‘म्याडली प्रोफेसनल, प्रोफेसनल्ली म्याड’ भन्ने रमाइलो नारासहित अघि बढेको यो टोलीले परम्परागत फिल्म प्रचारभन्दा फरक शैली अपनाउँदै दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ।

फिल्ममा मार्टिन भण्डारी र डार्विन श्रेष्ठ लेखन तथा निर्देशनमा संलग्न छन् भने अमन श्रेष्ठ निर्माता, सहलेखक, क्रिएटिभ डाइरेक्टर तथा मुख्य अभिनेताका रूपमा जोडिएका छन्। जेकेएस इन्टरटेनमेन्टको पिःल्म निर्माण भएको छ ।