एकसाथ सात फिल्ममा रवि किसन अनुबन्धित

मुम्बई(एजेन्सी) । भोजपुरी स्टार रवि किसनलाई भोजपुरी फिल्मको अमिताभ बच्चन नै भनिन्छ । उनको स्टारडमले यो समयमा आकाश छोइसकेको छ । हालै मात्र उनले एकैपटक सात फिल्ममा कामको सम्झौता गरेका छन् । उनले जी एन्टरटेनमेन्ट एन्टरप्राइजेज लिमिटेड (जेडईईएल)को च्यानल बिग गंगाका साथ यो सम्झौता गरेका हुन् ।

रविका अनुसार सातै फिल्मको कथा अलग अलग छन् । जुन फिल्ममा मसला फिल्म भन्दा पनि विषयबस्तुमा आधारित कथा छन् । यो च्यानलको झारखण्ड र बिहार राज्यमा व्यापक पहुँच छ । ‘यो सम्झौताको माध्यमले भोजपुरी फिल्मलाई अझ अगाडि बढाउने मेरो प्रयास हुनेछ,’उनले भने,‘मलाई विश्वास मेरा यी सात फिल्म हेरेर दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनेछन् ।’

रविले यो फिल्मका लागि झण्डै अढाई वर्षको समय दिनुपर्नेछ । उनी ‘सनकी दरोगा’, ‘परम पोथी’, ‘शेर जिन्दा है’, ‘सनकी दरोगा २’, ‘मंगरूआ के प्रेम कथा’, ‘रगड्ता बिहार’ र ‘बब्बर शेर’ जस्ता फिल्ममा अनुबन्धित भएका हुन् ।