सिंहदरबार २ टिजरमा गौरीको प्रधानमन्त्री रुप

काठमाडौं । अभिनेत्री गौरी मल्ललाई प्रधानमन्त्रीको लुक्समा प्रस्तुत गरिएको टेलिश्रृंखला ‘सिंहदरबार’को दोस्रो सिक्वेल ‘सिंहदरबार–२’ को टिजर सार्वजनिक भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआईडी)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड र शुभ मिडिया होमले उत्पादन गरेको टेलिश्रृंखलाको टिजर मंगलबार सार्वजनिक भएको हो ।

टिजरमा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, देशभक्त खनाल, आलोक थापा, प्रभात रिमाल, सबिना गोपाली, कृष्ण शिवाकोटी लगायतका कलाकार देखिएका छन् । पहिलो सिजनको सफलतापछि निर्माण गरिएको टेलिश्रृंखला सिंहदरबारको दोस्रो सिजनको निर्देशन नवीन सुब्बाले गरेका छन् ।

समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण गरिएको सिंहदरबार–२ ले सहकार्यात्मक नेतृत्व र सुशासनको माध्यमबाट नेपालमा कानुनी शासनको सुदृढिकरणमा जोड दिएको छ । साउनको दोस्रो सातादेखि नेपाल टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको टेलिश्रृंखला ‘सिंहदरबार–२’ १३ भागको छ ।