जगतमर्दनको म पतझड तिमी मधुमास

काठमाडौं । गायक जगतमर्दन थापाको चौथो एल्बम ‘म पतझड तिमी मधुमास’ सार्वजनिक भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी र गीतकार फिल्म निर्देशक चेतन कार्कीले एल्बम सार्वजनिक गरे । एल्बममा भारतीय गायिका उषा मङ्गेशकरसँगको युगल गायन समेटिएको छ ।

म्यूजिक खबरको आयोजनामा भएको कार्यक्रममा म्यूजिक खबरका अध्यक्ष सुमन बैरागी, संगीतकार शिखर सन्तोष, गीतकार प्रकाश सायमी र गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले जगतमर्दनबारेमा आफ्ना धारणा राखेका थिए । शताब्दी पुरुष सत्यमोहन जोशीले लाजिम्पाट, लैनचौरको इतिहास कोट्याउँदै त्यहीं क्षेत्रलाई कर्मथलो बनाउने जगतमर्दन संगीत इतिहासमा अमर नाम भएको बताएका थिए । गीतकार चेतन कार्कीले गायक जगतमर्दन थापा अपरान्ह पुरुष भएको बताउँदै उनका गीतसंगीतमाथि चर्चा गर्दै शुभकामना दिएका थिए ।

एल्बम ‘म पतझड तिमी मधुमास’ लाई मोहित मर्दन थापाले निर्माण गरेका हुन् भने म्यूजिक नेपालले बजार व्यवस्थापन गरेको छ । एल्बमभित्र मायालु नयनको इशारा, सपनीमा रुवाउँछ, धुवाँजस्तै उड्छ यो मन, वसन्तझैं फुलिदिन्छु, मेरो माया कस्तो कस्तो र कोइलीले सम्झाइदियो जस्ता माधुर्य गीतहरु रहेका छन् । यो एल्बमका वरिष्ठ गीतकार रत्नशमशेर थापा, विश्व वल्लभ, जगत मर्दन थापा, सहदेव ढुंगाना र मोहित मर्दन थापाका शब्द रहेका छन् भने मदनसिंह, मनोहर सुनाम, राजु सिंह, किरण कँडेल, शिखर सन्तोष र महेन्द्र संगीत निकेतनको संगीत रहेको छ ।

कार्यक्रममा उषा मंगेशकर र गायक थापाको स्वरमा रहेको म पतझड तिमी मधुमासको सार्वजनिक गरिएको थियो । दिनेश डिसीद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री सञ्चिता लुइँटेल, विशाल पहाडी लगायतको अभिनय रहेको छ । गोपाल आर क्षेत्रीको छायाँकन रहेको भिडियोमा माधव बेल्बासेको सम्पादन रहेको छ ।