अन्तिम चरणमा भीषणको पुरानो बुलेट

काठमाडौं । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको फिल्म ‘पुरानो बुलेट’को छायांकन अन्तिम चरणमा पुगेको छ । असार १६ गतेदेखि छायांकनमा रहेको फिल्मको ८५ प्रतिशत छायांकन सकिएको निर्माण पक्षले जनाएको छ । फिल्म काठमाडौं र पूर्वी मोरङको लेटाङ, पथरी, शनिश्चरे, बेतना, झापाको दोमुखा, धनकुटाको नाम्जे लगायतको स्थानमा छायांकन सकेर फिल्म युनिट काठमाडौं आइपुगेको छ ।

पत्रकार भीषण राईको डेब्यु निर्देशन रहेको फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कविता आलो, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठलगायतको अभिनय छ ।

फिल्मको कथा पत्रकारद्वय सन्तोष राई र निर्देशक भीषणले लेखेका हुन् । दिपेन्द्र लिम्बु, वीरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ राई निर्माता रहेको फिल्ममा सन्तोष राई कार्यकारी निर्माता छन् । फिल्ममा हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बुको संगीत छ ।