पाँच पाण्डव पोस्टरमा प्रफुल्ल पाण्डव

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’का प्रमुख कलाकारहरुलाई स्थान दिइँदै पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पाँच पण्डव अथवा फिल्मका मुख्य पाँच कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला छन् ।

पोस्टरअनुसार हरिवंश युधिस्ठिर बनेका छन् । भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देख्न सकिन्छ ।

पोस्टरमा घोडाले तानिरहेको साजसज्जायुक्त बग्गीमा पाँच पाण्डव छन् । युधिस्ठिर अर्थात् हरिवंश अगाडि बसेका छन् । उनको पछाडि बाँकी चारजना उभिएका छन् । पाँचै जना प्रफुल्ल चेहरामा छन् ।

निर्देशक वसन्त निरौलाले कतै देखिरहेका पात्र र लुक्स भएकाले यी क्यारेक्टर दर्शकमाझ चाँडै लोकप्रिय हुने र फिल्मप्रति दर्शकको प्रतिक्षा बढ्ने बताए । तिहारको छेको पारेर कार्तिक २० गतेदेखि रिलिज हुने फिल्मको अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । यो फिल्मको पूरै साउन्ड डल्बी एटमसमा हुनेछ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सिता न्यौपानेलगायतको पनि अभिनय छ ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

फिल्ममा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।