काठमाडौँ। सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’को छायांकन तीन दिनका लागि स्थगित गरिएको छ। निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै भारी वर्षा र प्रतिकूल मौसमका कारण फिल्मको छायांकन तीन दिनका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
विज्ञप्तीमा मौसममा आएको खराबी तथा सरकारले जारी गरेको उच्च सतर्कता सम्बन्धी सूचनालाई मध्यनजर गर्दै असोज ९, १० र ११ गतेका लागि छायांकन रोक्ने निर्णय गरिएको उल्लेख छ । ‘कलाकार तथा सम्पूर्ण प्राविधिक टोलीको जीउधनको सुरक्षा र सहजतालाई पहिलो प्राथमिकतामा राखेर यो निर्णय लिइएको हो’, निर्माता सुप्रिया कटुवालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
४५ दिनको सेड्युलसहित पोखराबाट सुटिङ सुरु गरिएको यस फिल्मको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ। गीत बाहेक फिल्मका प्रायः सबै दृश्यको छायांकन सकिसकेको निर्देशक सुदर्शन थापाले बताए। बाँकी रहेका गीतहरूको सुटिङ पनि अबको १० दिनभित्र सकिने निर्माण टिमले जनाएको छ।
फिल्ममा प्रदीप खड्का, सनिशा भट्टराई, हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य लगायतको अभिनय छ ।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन् । प्रदीप श्रीवास्तवको कथा रहेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका हुन्। फिल्म आगामी फागुन २१ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।








