लसएञ्जल्स(एजेन्सी) । अमेरिकी अभिनेता ब्राड पिट र अभिनेत्री एञ्जेलिना जोली सन् २०१६ मा दुई वर्षको विवाह पछि अलग भए । अदालती प्रक्रियाबाट अलग भए पनि सन्तानको कारण देखाउँदै जोलीले ब्राडलाई अदालतको ढोकामा पुनः ल्याई पु¥याएकी छन् । जोलीले सम्बन्धविच्छेदको मुद्धा दायर भएपछि यता पिटले बच्चाको खर्च नदिएको आरोप लगाउँदै अदालतमा अर्को मुद्धा दर्ता गराएकी छन् ।
तर ब्राडले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनको वकिलले बुधबार अदालतलाई पिटले जोलीलाई हालसम्म १३ लाख डलर बढी रकम दिइसकेको जानकारी गराएका छन् । योबाहेक जोलीको घर किन्नलाई सहयोग गर्न उनले ८० लाख डलर ऋण पनि लिएको जनाएका छन् ।
गत मंगलबार जोलीको वकिलले जोलीले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्धा दर्ता गराएयता बच्चाको लागि एक रुपैंयाँ पनि खर्च नदिएको जनाएका छन् । जोली र पिट सन् २००५ देखि सँगै थिए र उनीहरुले सन् २०१४ मा विवाह गरेका थिए । पिटका वकिलले जोलीले मिडिया कभरेजका लागि ठूलो बोलेको आरोप लगाएका छन् । जोलीको तर्फबाट भने यो विषयमा हालसम्म कुनै प्रतिक्रिया आइसकेको छैन ।
जोलीका वकिलले सन्तानको भरणपोषणको खर्च दिनु पिटको वैधानिक कर्तव्य रहेको बताएका छन् । ‘तर जोलीसँग अलग भएपछि पिटले बच्चका लागि कुनै खर्च पनि दिएका छैनन,’जोलीकी वकिलले भनेका छन्,‘डेढ वर्ष बढी समयदेखि बच्चाको खर्च रकम दिइएको छैन । त्यसकारण खर्चको माग गर्दै जोलीले अदालतमा मुद्धा हालेकी हुन् । जोलीले सम्बन्धविच्छेदको निर्णय लिने कारण बढ्दो दुरी र मतभेदलाई लिएकी छन् । सम्बन्धविच्छेदपछि पनि बच्चालाई कोसँग राख्ने विषयमा पनि महिनौं विवाद चलेको थियो । पिटमाथि सन्तानको श्रम शोषण गरेको आरोप पनि लागेको थियो ।
पिट र जोली सन् २००५ मा फिल्म ‘मिष्टर एण्ड मिसेस स्मिथ’को सुटिङताका नजिकिएका थिए । यही भेटपनि फ्यानले यो जोडीलाई ‘ब्रान्जेलिना’को उपमा दिएको थियो ।
पिटको यो दोस्रो विवाह हो । उनले यसअघि जेनिफर एनिस्टनसँग विवाह गरेका थिए । जबी जोलीले यसअघि अभिनेता जोनी ली मिलर र बिली बोब थार्नटनसँग विवाह गरिसकेकी छन् ।