होटल लजमा जय शम्भुको प्रचार

काठमाडौं । फिल्म ‘जय शम्भु’को प्रचारप्रसारका लागि मोफसल यात्रामा रहेको फिल्म युनिटले त्यहाँ रहेका होटलमा गएर दर्शकसँग भलाकुसारी गर्दै फिल्म हेरिदिन आग्रह गरेका छन् । फिल्म युनिटले शुक्रवार बेलुका पोखराको सबै रात्रिकालिन होटलहरुमा आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई फिल्मको बारेमा जानकारी गराएको थियो छन् ।

एक्शन लभस्टोरी भनिएको फिल्मका बारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुपविक्रम शाहीलगायत उपस्थित भएका थिए । नायिका वर्षा शिवाकोटी भने मौसम खराबका कारण पोखराको उडान हुन नसकेपछि काठमाडौंमै रोकिएकी थिईन् ।

पोखरामा रहेको फिल्मका टिम बुटवल प्रस्थान भएका छन् । बुटवलमा नायिका वर्षा शिवाकोटी पनि उपस्थित हुनेछिन् । शनिबार बेलुका बुटवलका विभिन्न होटल तथा लजहरुमा गई फिल्मको बारेमा जानकारी गराएका छन् । त्यस लगत्तै फिल्म युनिट आइतबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम सकाएर त्यहाँबाट चितवन र हेटौंडातर्फ लाग्नेछन् ।

चितवन र हेटौंडाको कार्यक्रम सकाएर फिल्म युनिट २८ गते सोमबार काठमाडौं फर्कनेछन् । फिल्म युनिटले पोखराको आधादर्जनभन्दा बढी होटल तथा लजहरुमा पुगेर फिल्मको बारेमा जानकारी गराएका थिए । फिल्म युनिटले मिस गण्डकीका कन्टेस्टेन्टहरुसँग पनि भेटघाट गरेका थिए ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा छन् । यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिशशाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।  फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु रानाआदको मूख्यभुमिका रहेको छ ।