सबितालाई भयो माइतीको आँगनी बिरानो

काठमाडौं । म्यूजिक खबर पाक्षिककी सम्पादक सबिता पोखरेलको शब्दमा तीज गीत ‘बिरानो भो माइतीको आँगनी’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ गीतकार उन्नति शीला बोहराको प्रमुख आतिथ्यता एवं गायक शिव परियार, गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजन लगायतको उपस्थितिमा राजधानीमा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक खबरको आयोजनामा भएको कार्यक्रममा गायक परियारले तीज गीतले वास्तविकता बोकेको भन्दै गीतकार पोखरेललाई शुभकामना दिएका थिए । त्यसैगरी गीतकार संघका उपाध्यक्ष बमजनले गीतकार पोखरेलको शब्द लेख्ने शैलीले लोभ्याएको बताएका थिए । चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीले गीत संगीत राम्रो बनेको भन्दै सफलताको शुभकामना दिएकी थिइन् ।

गायिका एवं संगीतकार काव्य आचार्यले गीतकार सविता पोखरेलको शब्द मन परेकै कारण आफूले संगीत सिर्जना गरेको बताउँदै गीत सबैले मन पराइदिनुहुने आशा व्यक्त गरेकी थिइन् । प्राज्ञ एवं गीतकार उन्नती शिला बोहराले माइती चेलीको वेदना मात्र नभएर पुराना दिनको सम्झनासमेत व्यक्त भएको बताउँदै गीतकार सविता पोखरेलको पहिलो सिर्जना जस्तो नलागेको बताएकी थिइन् ।

विरानो भो माइतीको आँगनी बोलको गीतलाई विपिन आचार्यले एरेन्ज गरेका छन् भने भिडियोलाई राजीव बलामीले निर्देशन गरेका छन् । रिना थापा मगर, रिना राउत र मेलिना ठकुरीको अभिनय रहेको म्यूजिक भिडियोलाई कृष्ण श्रेष्ठले छायाँकन गरेका हुन् भने दिनसन शाहले सम्पादन गरेका हुन् । भिडियोलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।