चार लुक्समा रोजीका प्रदिप

काठमाडौं । आगामी भदौ २२ गतेबाट रिलिज हुने फिल्म ‘रोजी’ नायक प्रदिप खड्काका कारण चर्चामा छ । उनले फिल्मका लागि बदलेको गेटअपले पनि फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता आम दर्शकमा छ ।

यही चर्चाबीच फिल्म निर्माण कम्पनी गोपीकृष्ण मुभिजले प्रदिपको चार चरित्र झल्काउने तस्बिर सार्वजनिक गरेको छ । फिल्म निर्माण पक्षले निर्माताले एक्सक्लुसिभ क्यारेक्टर लुक्स आउट गर्दै प्रदीप चरित्रलाई सार्वजनिक गरे । ती चार पात्रमा मुड, मनस्थिती र मनोदशाका अलग आकृति महसुस हुन्छन् ।

पहिलोमा उनी सामान्य तर सोझा युवक, दोस्रोमा विद्यार्थी, तेस्रोमा नोस्टाल्जिक र चौंथोमा कुनै एक अपराधी टाइपको गेटअपमा प्रदिपलाई देख्न सकिन्छ । ‘मेरा लागि यो अवसर पनि हो, चार चरित्र चित्रण गर्नु मेरा लागि च्यालेन्ज र अपर्चुनिटी दुबै हो’ प्रदिपले भने, ‘प्रत्येक क्यारेक्टरका आफ्नै अर्थ र सन्देश छन् । त्यसकारण मेरा लागि रोजी विशेष छ ।’

निरक पौडेल निर्देशित फिल्मले एक सोझो युवकको अपराधतर्फको यात्रा र उतारचढाव पेश गर्छ । फिल्ममा मिरुना मगर र परमिता राणाको पनि अभिनय छ ।