एकअर्कालाई मायाले बाँध्दै आर्यन–सृष्टि

काठमाडौं । फिल्म बाँध मायाले को शिर्ष गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

संगीतकार पोखरेलकै शब्द रहेको बाँध मायाले गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । पत्रकार भेटघाट कार्यक्रममा संगीतकार पोखरेलले यो गीतले दर्शकको मन जित्ने दाबी गरे । बाँध मायाले ५ असोजबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

सविर श्रेष्ठ निर्देशित फिल्म बाँध मायालेमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङको अभिनय छ । यसै फिल्मबाट नव नायकको रुपमा किशोर खड्का डेव्यु गर्दैछन् । रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन् । फिल्मका छायाँकार बाबु श्रेष्ठ हुन् ।