दर्शकलाई सुदनको दाल भात तरकारी

काठमाडौं । फिल्म ‘शत्रु गते’ टिमले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ निर्माण गर्ने भएको छ । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको बुधबार राजधानीमा घोषणा गरियो ।  फिल्मलाई निर्माता किरणकै छोरा सुदनले निर्देशन गर्नेछन् । दुई हलिउड फिल्म ‘रिमेम्बर मि’ र ‘माई लभ’मा सह–निर्देशक तथा ‘शत्रु गते’ मा सहायक निर्देशक बनिसकेका सुदनले यो फिल्मबाट पूर्ण निर्देशनमा डेब्यु गर्दैछन् ।

फिल्म घोषणा कार्यक्रममा निर्देशक सुदनले आफ्ना लागि ‘दाल भात तरकारी’ अवसर र चुनौति दुवै रहेको बताए । ‘यस ब्यानरबाट निर्माण भएका फिल्म सफल मात्र छैनन्, दर्शकको प्रिय पनि छन्,’उनले भने, ‘यसैले केहि जिम्मेवारी पनि बढेको भान भएको छ । मह सञ्चार शाख बढाउने फिल्म बनाउने प्रयास गर्नेछु ।’

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिशिर बाङ्देल, विल्सनविक्रम राई, यमन श्रेष्ठ, शिवहरि पौडेल र किरण केसीलगायतको अभिनय रहनेछ । मंसिर पहिलो साताबाट छायांकन शुरु हुने फिल्म २०७६ को वैशाख १३ गते रिलिज हुनेछ । फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने छ ।

फिल्ममा हरिवंश आचार्यको कथा, पटकथा र संवाद, शम्भुजित बाँस्कोटाको संगीत, हरिवंशको गीत, मित्र डि गुरुङको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र दीर्घ गुरुङको छायांकन हुनेछ । फिल्ममा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्माता छन् ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठले फिल्ममा आम मानिसकै कथा प्रस्तुत गरिने जनाउँदै आफू केही भिन्न भूमिकामा देखिने खुलाए । अर्का कलाकार हरिवंशले सुदन किरणकै छोरा भएको भन्दा पनि प्रतिभा भएको कारणले क्याप्टेनशिप दिएको बताए ।