‘नाइँ नभन्नू लसँग डर छैन’

काठमाडौं । आगामी शुक्रबार अर्थात भदौ ८ गतेबाट फिल्म ‘रेनी’ रिलिज हुँदैछ । यही मितिमा ब्राण्डका रुपमा स्थापित फिल्म ‘नाइँ नभन्नू ल’को पाँचौं संस्करण ‘नाइँ नभन्नू ल ५’ रिलिज हुँदैछ ।

एउटा ब्राण्डेड फिल्मसँग आफ्नो फिल्म रिलिज हुँदा फिल्मकी निर्मात्री विमला मल्ललाई कुनै डर छैन । ‘नाइँ नभन्नू ल ५ आफैमा ब्राण्डेड फिल्म हो । तर हाम्रो फिल्म नयाँ भएर पनि विषयबस्तुका हिसाबले दह्रो छौं,’विमला भन्छिन्,‘हामीले निकै मेहनतका साथ फिल्म बनाएका छौं । कन्टेन्ट राम्रो भएकाले पनि फिल्मलाई दर्शकले रुचाउनु हुनेछ ।’

त्रिकोणात्मक प्रेमकथानक फिल्ममा सरोज खनाल, सुरवीर पण्डित ‘दारी बा’, दीपक ढकाल, गिरिश रिजाल ‘समीप’ का साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन् ।गिरिश रिजाल ‘समीप’को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् । फिल्म निर्माणमा बिमला मल्ल र संजिव मल्लले सहकार्य गरेका छन् । निर्देशक गिरिशका अनुसार काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको फिल्म एक्शन, लभ, कमेडीका साथै सामाजिक सन्देशयुक्त छ ।

जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्वन्द्व र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।