सम्मानसँगै गुञ्जिए शिव–बद्री

पर्वत । अनलाइन पत्रिका ’सूचना केन्द्र डटकम’ को पाँचौ वार्षिकोत्सवको अवसरमा पर्वतको कुश्मामा आयोजित कार्यक्रममा गायकद्वय शिव परियार र बद्री पंगेनी सम्मान पाएसँगै गुञ्ज्एिका छन् ।

कार्यक्रममा लोक गायक बद्रि पंगेनी, गायक शिव परियार तथा लोक गायिका सम्झना भण्डारीले आफ्ना चर्चित गीतहरुबाट सयौं दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।  कार्यक्रमा पर्वत जिल्लामा जन्म लिई हाल काठमाडौंमा रहेर राष्ट्रिय स्तरमा चलचित्र पत्रकारितामा सक्रिय जीवन पराजुलीलगायत जिल्लामा सक्रिय केही पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान पनि गरिएको थियो ।

उक्त कार्यक्रममा गायक पंगेनीले ‘लाऊ चेली सिन्दुर लाऊ’, ‘ससुरालीमा’ लगायतका गीत गए भने केही गीतमार्फत् नेतालाई व्यंग्य समेत गरे । उता गायक परियारले ‘हल्ला हल्लामै’, ‘क्या दामी भो’, ‘पिलायो साथीले’ लगायतका आफ्ना चर्चित गीत दर्शकलाई सुनाए ।

वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी प्रमुख भुवनेश्वोर तिवारी तथा विभिन्न गाउँपालिका प्रमुखहरुको उपस्थिति थियो ।