मिष्टर भर्जिन र जय शम्भुमा उत्साहजनक दर्शक

काठमाडौं । शुक्रबारबाट प्रर्दशनमा फिल्म ‘मिस्टर भर्जिन’ र ‘जय शम्भु’ हेर्ने दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ । युवा वर्ग लक्षित ‘मिटर भर्जिन’को शुक्रबार करिब ७० देखि ८० प्रतिशतको अकुपेन्सी रहेपनि शनिबार काठमाडौंका अधिकांश हल हाउसफूल भएका थिए ।

यही मौकामा दर्शकहरुसँग प्रतिक्रिया लिन फिल्मका कलाकार काठमाडौंका विभिन्न हल पुगेका थिए । कलाकार गौरव पहारीले दर्शकबाट प्राप्त प्रतिक्रियाले निकै हौसिएको र यस्तै सकारात्मक प्रतिक्रियाले फिल्मले थप दर्शक पाउने आशा व्यक्त गरे । राजधानीका मल्टिप्लेक्समा फिल्मको शोहरु थपिने क्रम रहेको निर्माण पक्षले जनाएको छ ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा विशारद बस्नेतको निर्देशन छ । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै फिल्म ‘जय शम्भु’ ले सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राख्यो । काठमाडौंको गोपि, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायतका धेरै स्क्रिन भएको हलहरुले ‘जय शम्भु’लाई शनिवार विहान देखी ठूलो पर्दा दिएको थियो ।

यस्तै काठमाडौं बाहिर पूर्व र तराई क्षेत्रमा गरेर २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपाल काजी कायस्थले दावी गरे । रुपेश तामाङ निर्देशित फिल्ममा प्रशान्त ताम्राकार, वर्षा शिवाकोटी, अनुपविक्रम शाहीलगायतका कलाकारको अभिनय छ ।