रामकहानीमा कमेडियनको डराएको रुप

काठमाडौं । आगामी भदौ २२ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रामकहानी’ दुई कारणले चर्चामा छ । पहिलो कारण यसका निर्देशक सुदर्शन थापाको ब्राण्ड भ्यालु र दोस्रो कारण फिल्ममा कमेडी कलाकारको बाहुल्यता हो । फिल्ममा आकाश श्रेष्ठ र पुजा शर्मा प्रमुख कलाकार भए पनि केदार घिमिरे ‘माग्ने बुढा’, विल्सनविक्रम राई ‘तक्मे बुढा’, जितु नेपाल ‘मुन्द्रे’ र रविन्द्र झाको अभिनयले पनि फिल्मलाई बलियो बनाएको हुनसक्ने अनुमान बजारमा गरिएको छ ।

फिल्मको गीत र ट्रेलर सार्वजनिक भैसकेपछि यसले दर्शकमा एक प्रकारको कौतुहलता समेत जगाएको छ । फिल्मको ट्रेलरमा कमेडी, सस्पेन्स र प्रेमलाई स्थान दिइएको छ । तर, चलचित्रको छायांकनको क्रममा पर्दा पछाडि निकै रमाइलो भएको अनुभव यसको टिमसँग छ ।

फिल्मका मुख्य कलाकार केदार घिमिरेले २५ हजार खर्च गरेर खसी काटेर खुवाएको खबरले पनि चर्चा पाएको थियो । निर्देशक थापा एउटा फिल्म निर्माण हुनका लागि सय भन्दा बढी सदस्यहरुको मिहिनेतले काम गरेको हुनाले फिल्मको पर्दा पछाडिका दुःख र सुख आफैमा सम्झनलायक रहेको बताउँछन् ।

‘छक्का पन्जा’ ब्रान्डसँग जोडिएर काम गरिरहेका केदार र जितु पहिलो पटक बाहिरी ब्यानरको फिल्ममा देखिदैछन् । तर, उनीहरुले यो फिल्मको टिमलाई पनि आफ्नै परिवार भनेका छन् ।