चरित्र बदल्दै अनमोल केसी

काठमाडौं । नायक अनमोल केसीको पहिचान फिल्म क्षेत्रमा एकताका लभरब्वाईका रुपमा थियो । तर पछिल्लो फिल्म ‘कृ’मा उनको एक्सन अवतारले अनमोल एक्सनमा पनि फिट छन् भन्ने प्रमाणित गरेको थियो । यो फिल्मले भलै सोचे जस्तो व्यापारिक सफलता त पाउन सकेन । तर अनमोलको अभिनय र बदलिएको चरित्रको राम्रो तारिफ पायो ।

अनमोल यतिबेला नयाँ फिल्म ‘क्याप्टेन’मा व्यस्त छन् । दिवाकर भट्टराई निर्देशित फिल्मले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत पहिलो फष्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक फष्टलुकमा अनमोलले फूटबललाई आक्रामक शैलीले किक हान्न लागेको देख्न सकिन्छ । पृष्ठभूमिमा ११ जर्सी नम्बर लगाएका अनमोल पनि छन् । जहाँ उनको नाम इशान राखिएको छ ।

फिल्मले फूटबल स्टार बन्न गाउँमा जन्मिएको एक केटाले गरेको कठोर संघर्षलाई देखाइएको छ । भुवन केसीले निर्माण गरेको फिल्ममा उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यु गर्दैछन् । फिल्ममा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सनविक्रम राईलगायतका कलाकारहरूको पनि अभिनय छ । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

फिल्ममा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन, सुदिप बरालको डीओपी र नवराज उप्रेतीको छायांकन छ ।