दीपकराज भन्छन्ः ‘ओलीले हाँस्यव्यंग्य कलाकारको जागिर खोसिदिए’

काठमाडौं । मृतकको सम्झनामा देशभर नेवार समुदायले गाइजात्रा मनाइरहँदा लामो समयदेखि दर्शक हँसाइरहेका कमेडियनले पत्रकारमाझ सरकारलाई चोटिलो व्यंग्य गरे । रिपोर्टस् क्लबमा आयोजित कार्यक्रममा उनीहरुले सरकारको कार्यशैलीको विरोध गर्दै व्यंग्य कसे ।

कलाकार मनोज गजुरेलले सरकारका मन्त्रीहरू सत्ता, शक्ति र सम्पत्तिको मरिमेट्ने गरेको आरोप लगाए । ‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो, मैले भनेको कुरा व्यङ्ग्य पनि हो, सत्य पनि हो,’उनले भने, ‘हाम्रा मन्त्रीलाई पाँच पाँच जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्याएको भन्नुहुन्छ ।’उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराज ज्ञानेन्द्र शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प लगायत व्यक्ति र राजधानीको जामका विषयमा व्यङ्ग्य प्रस्तुत गरेका थिए ।

अर्का कलाकार दीपकराज गिरीले पाँच वर्षको लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हाँस्यव्यङ्ग्य कलाकारको जागिर खोसिदिएको आरोप लगाए । ‘गाईजात्रा व्यङग्यको पर्व हो । तर बलात्कार जस्तो दुःखद र अत्याचारको विषयलाई पनि कलाकारहरुले प्रहशन गर्नुपर्ने स्थिति छ,’उनले भने, ‘अर्कोतर्फ पाँचवर्षको लागि बनेको सरकारका प्रधानमन्त्री ओलीले जनतालाई खुब हसाई राख्नु भएको छ । केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ । उहाँले जनताको काम गर्ने भन्दापनि हसाँउने काम गरिरहनु भएको छ ।’ कलाकार जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताए ।

उनलले स्थिर सरकारलाई थाईराइड नहोस भन्दै प्रधानमन्त्री, मन्त्री र नेताहरुले समेत टिकट काटेर हाँस्य व्यङ्ग्य हेर्न आउनु पर्ने भन्दै कलाकारहरुले नेताहरुको पछि नलाग्न सुझाव दिएका छन् । कलाकार दमन रुपाखेतीले वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको आरोप लगाएका छन् । रुपाखेतिले धमलाको नाक, आवाज र उचाइ सबै ठूलो भन्दै व्यङ्ग्य गरे । उनले धमलाको बोल्ने शैलीको क्यारिकेचर गरेका थिए ।  एक महिना अघि प्रदेश नम्बर ७ को कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणलाई स्मरण गदै अर्का हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा) ले प्यारोडि गीत गाएर सुनाएका थिए ।

कार्यक्रममा हाँस्य कलाकार श्री कृष्ण सिमखडाले करको दर बढेको विषयलाई व्यङ्ग्य गर्दै सरकारले जनतालाई राहतको रुपमा कर लादेको बताए । कार्यक्रममा शिव शंकर रिजालले सम्पन्न विश्वकपलाई स्मरण गर्दै पत्रकार ऋषि धमला सबैभन्दा धेरै खट्ने पत्रकार भएको दाबि गरे । कलाकार तथा गायिका भूमिका शाहले पछिल्लो समय नेपालमा वर्षैभरी गाइजात्रा भइरहेको भन्दै देशमा हुने गरेको बेथितीप्रति असन्तुष्टी व्यक्त गरिन् । पल्पसा डंगोलले ऋषि धमला आफ्नै श्रीमान भएको दाबी गरिन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा केही समय धमलासँगै काम गरेकी डंगोलले सन्दर्भ जोडेकी थिइन् । राजाराम पौडेलले धमलाको लामो नाकप्रति व्यङ्ग्य गरे । उनले धमला आफ्नो बच्चादेखिको साथी भएको उल्लेख गर्दै सानो छँदा आफ्नो गालामा किस खाँदा नाकले घोचेको स्मरण गरे ।