अनुरागमा ऋषि र एलिजाको यो संयोग

काठमाडौं । पत्रकार ऋषि धमला र नवनायिका एलिजा गौतम नातागत सम्बन्धमा उनीहरु पतिपत्नी हुन् । तर व्यावसायिक रुपमा कुरा गर्दा ऋषि निर्माता र एलिजा नवनायिका हुन् । आगामी असोज १२ गते रिलिज हुने फिल्म ‘अनुराग’मा ऋषिको लगानी छ ।

ऋषि फिल्मका कलाकारसँग नजिक छन् । तर उनी हत्तपत्त व्यस्तताका कारण फिल्म हेर्दैनन् । यसपटक भने उनी आफै निर्माताका रुपमा आएका छन् । उनलाई निर्माता बनाउने श्रेय श्रीमति एलिजालाई जान्छ ।

‘एलिजासँग मेरो विवाह नभएको भए फिल्म निर्माण गर्दिन थिएँ । उनमा अभिनयको रस देखेर नै फिल्ममा लगानी गरेको हुँ,’ऋषिले सोमबार पत्रकारसँग भने,‘स्क्रिप्ट पढेपछि म फिल्ममा लगानी गर्न इच्छुक भएँ । विवाहपछि फिल्ममा आउने अभिनेत्रीहरु निकै कम छन । तर यसमा अपवादका रुपमा एलिजालाई ल्याउन लागेको हुँ ।’

नवनायिका एलिजाले दुई सन्तानको आमा भएर पनि फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले श्रीमानको साथ र सहयोगकै कारण आफूलाई फिल्ममा आउन आत्मबल मिलेको बताइन् । सत्यराज चौलागाईको निर्देशन रहेको फिल्ममा समुन्द्र पण्डित नवनायकका रुपमा देखिएका छन् ।