काठमाडौं । लभरब्वाईका रुपमा चिनिएका नायक प्रदिप खड्कालाई फरक चरित्रमा प्रस्तुत गरिएको फिल्म ‘रोज’ शुक्रबारबाट एकसाथ ९५ हलमा प्रदर्शन हुने भएको छ । प्रेमकथामा अपराधलाई फ्युजन गरेर निर्माण गरिएको फिल्मको निर्देशन निरक पौडेलले गरेका छन् । फिल्म गोपिकृष्ण मूभिज र आरोही फिल्म्सको व्यानरमा निर्माण भएको हो ।
फिल्मका वितरक गोबिन्द शाहीका अनुसार काठमाडौंको विश्वज्योतीबाहेकसबै सिंगल र मल्टिप्लेक्स हलमा फिल्म रिलिज हुनेछ । फिल्मले काठमाडौंको क्युएफएक्समा शुक्रबार १५ ओटा शो पाएको छ । काठमाडौं बाहिर सबैजसो हलमा फिल्म लाग्ने मोफसल वितरक मनोज राठीले बताए ।
फिल्ममा परमिता राज्यलक्ष्मी राणा र मिरुना मगर कर्मा, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहालको अभिनय छ ।
उद्धब पौडेलको प्रस्तुति रहेको फिल्ममा मणिकरण केसी, आर्या पौडेल र आरोही केसीको लगानी छ । फिल्ममा राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।