दार्जिलिङमा रोमान्स गर्दै लभ स्टेसनका प्रदीप–जसिता

काठमाडौं । फिल्म ‘लिलीबिली’मा दर्शकले रुचाएको प्रदीप खड्का र जसिता गुरुङले दार्जिलिङको सुन्दर लोकेशनमा रोमान्स गर्ने भएका छन् । निर्देशक उज्जवल घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म ‘लभ स्टेसन’मा यो जोडी पुनः सँगै देखिन लागेको हो । आगामी असोज ५ गतेबाट दार्जिलिङबाट छायांकन शुरु हुने प्रेमकथाको सामाजिक पारिवारिक फिल्ममा प्रदीप र जसितासँगै ‘मिस सिलगुढी’ श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायतका कलाकारले अभिनय गर्नेछन् ।

‘हामीले ठाउँको नामका आधारमा फिल्मको नाम राखेका हौं । मेरै कथा भएकाले फिल्मका लागि म हिरोको खोजीमा थिएँ । तर यसपटक प्रदिप र निर्माताको समूह मलाई नै खोज्दै आए’उज्जवलले भने । नायक प्रदीपले फिल्मको स्क्रिप्ट राम्रो पाएको र निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा खुसी लागेको बताए । उनले यो फिल्म विगतका आफ्ना फिल्मभन्दा केही पृथक हुने जनाए ।

अभिनेत्री जसिताले काफिया फिल्म्स्सँग पहिला पनि ‘लिली बिली’मा काम गरेको र यही व्यानरले प्रदीपसँग आफुलाई चयन गरेको हुँदा खुसी लागेको बताइन् । फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले फिल्म ‘लिली बिली’ निर्माण गर्दा नै प्रदीप र जसितासँग दुई फिल्म निर्माण गर्ने सम्झौता भए बमोजिम लभ स्टेशनमा पनि यी दुईलाई जोडीको रुपमा लिएको शाहीले बताए ।

फिल्म कालिङपोङ, सिक्किम, फिक्कल लगायतका स्थानमा छायाँकन गरिने छ । फागुनको अन्तिम साता रिलिज हुने फिल्ममा आलोक शुक्लाको छायांकन रहने फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।