प्रेमदिवसको साङ्गेमा स्वस्तिमाको बुलबुल

काठमाडौं । नायिका स्वस्तिमा खड्कालाई ट्याम्पो चालकका रुपमा प्रस्तुत गरिएको फिल्म ‘बुलबुल’ प्रेमदिवसको भोलिपल्ट अर्थात प्रेमदिवसको साङ्गेमा रिलिज हुने भएको छ । २५ दिनको सुटिङ सेडयुल सकाएको फिल्म युनिटले भ्यालेन्टाइन डे अर्थात प्रेमदिवसको भोलिपल्ट फागुन ३ गते रिलिजको घोषणा गरिएको हो ।

निर्देशक विनोद पौडेलका अनुसार साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको फिल्म निर्धारित समय भन्दा अगाडि नै सकिएको हो । ‘एउटा गीतको काम बाँकी राखेर फिल्मको काम सकाएका छौं । आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैंतिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं,’ उनले भने ।

‘साँघुरो’का लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो । ट्याम्पो चालक महिलाको कथा रहेको फिल्ममा स्वस्तिमा खड्का ट्याम्पो चालक छिन् । फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा अविरल थापाको लगानी छ । ‘डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोच अनुरुप फागुनको समय राखेका हौं ।’ थापाले भने ।

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्ममा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर छ । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।