जुनी जुनी विजेतालाई पुरस्कर

काठमाडौं । गायक राहुल विश्वास र गायिका सन्ध्या जोशीको स्वर रहेको ‘जुनी जुनी’ बोलको गीतको ‘अनलाइन कभर सङ्स प्रतियोगिता २०७५’ का विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरिएको छ । ‘केबीए ग्लोबल जुनी जुनीलाई अनलाइन कभर सङ्स कम्पिटिसन २०७५’ नाम दिइएको प्रतियोगितामा झापाकी मुना सोरेन विजेता तथा इटहरीकी सपन श्रेष्ठ उपविजेता बनेका थिए ।

राजधानीमा आयोजित कार्यक्रममा विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिएको हो । गीतमा संगीतकार टिका दाहालको संगीत तथा बिष्णुबाबु देवकोटाको शब्द रचना छ । गायकगायिका नेपाल आइडलको उत्कृष्ट १२ मा परेका प्रतियोगी हुन् ।

पुरस्कार प्रतियोगिताका निर्णायक कमल खत्री, गीतका रचनाकार बिष्णुबाबु देबकोटा, गायिका सन्ध्या जोशी र केबीए ग्लोबलका मेनेजर ओम बहादुर कार्कीले प्रदान गरेका थिए । विजेता र उप–विजेताले एक–एक वटा गीत रेकर्डको अवसर पनि पाएका छन् ।

लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका संगीतकार टिकाको संगीतमा बनेको गीत निर्माणमा अष्ट्रेलियामा नै बस्दै आएका गणेश अधिकारी र प्रकाश ढुंगानाले सहयोग गरेका छन् । कभर कम्पिटिसनका लागि पुरस्कारको प्रायोजन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले गरेको हो ।