काठमाडौं । राजधानीमा शुक्रबार सम्पन्न ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन् । प्रतियोगितामा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष पुरुषतर्फ र २४ प्रतियोगीलाई पछि पार्दै महिलातर्फ अदितीले शीर्ष उपाधि जितेका हुन् ।
दुबैले नगद पुरस्कार ५० हजार प्राप्त प्राप्त गर्दा आशिषले ‘मिष्टर ओशियन’ र अदितीले ‘सुपर मोडल’मा सहभागिताको अवसर पाए । उनीहरु दुवै कोरियामा सञ्चालन हुने एलबिएमए अवार्डमा समेत भाग लिने नेपाली प्रतिनिधि बन्ने छन् । प्रतियोगीतामा दुवैले ‘कमर्सियल मोडल’को अवार्ड पनि जिते । चौथो संस्करणको प्रतियोगीतामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ ‘फस्ट रनर अप’, मुनिर अहमद र हेलि गुरुङ ‘सेकेन्ड रनर अप’ तथा आदर्श ज्ञवाली र सन्नी महर्जन ‘थर्ड रनर अप’ बने ।
विजेता सुरज र रुबिस्काले ३० हजार, मुनिर र हेलिले २० तथा आदर्श र सन्नीले १५ हजार प्राप्त पाए । नेक्स्ट मोडलको आयोजनामा भएको कार्यक्रममा आईसी स्कूल अफ आर्ट एण्ड फेसनका विद्यार्थी डिजाइनरहरुको विविधता युक्त सुन्दर, आकर्षक र मनमोहक पहिरनमा सजिएका सहभागी मोडलको उपस्थिति विशेष थियो ।
प्रतियोगिताको निर्णायकमा फेसन तथा कमर्सियल फोटोग्राफर राजभाई सुवाल, आईसी ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक शैलजा अधिकारी, फेसन डिजाइनर विश्व गौतम, कोरियोग्राफर एवं मिडिया पर्सनालिटी माल्भिका सुब्बा तथा अभिनेत्री एवं मोडल पारामिता आर एल राणा थिए ।
प्रतियोगितामा विशाल गिरी र किरण चन्द ‘पर्सनालिटी’, आदर्श ज्ञवाली र हेलि गुरुङ क्रमशः ‘फिजिक’ र ‘फिगर’, सफल जंग शाह र रुबिस्का श्रेष्ठ ‘फोटोजेनिक’, पोशन शर्मा र भावना बन्जारा ‘वेष्ट वाक’, सम्राट चौरेल र रितु अधिकारी ‘पपुलर’, विशाल गिरी र रहिमा लामिछाने ‘पब्लिक च्वाइस’, सुजन थापा र रितिका शर्मा ‘स्टाइलिस’ तथा सफल जंग शाह र सन्नी महर्जन ‘सोशियली रेस्पोन्सिबल’ बने ।