मिलनले गुञ्जाए युरोप

काठमाडौं । गायक मिलन लामा तीन महिनाको युरोप भ्रमण पछि नेपाल फर्किदैछन् । उनले युरोपका २० स्टेजमा आफ्नो प्रस्तुती दिएका छन् । मिलनले पहिलो कार्यक्रम डेनमार्कमा गरेका थिए भने बिसौं मध्येको अन्तिम कार्यक्रम जर्मनीमा सकेर उनी बिहीबार नेपाल आइपुग्दैछन् ।

बिशेषगरी नेपाली पर्यटनमा जोड दिने गायकको रुपमा चिनिदै आएका मिलनले बिदेशका कार्यक्रममा जाँदा नेपाली पयर्टन प्रबद्र्धनमा निकै चासो दिने गर्दछन् । ‘मैले सयौं गीत गाएँ तर नेपालको परिवेश, भुभागसँग जोडिएका गीत गाउँदा छुट्टै अनुभूति हुन्छ,’ मिलनले भने । उनले डेनमार्क, बेल्जियम, लुजेम्बर्ग, इटाली, फ्रान्स, पोर्चुगल, जर्मनी, स्पेन, नर्बे लगायतका देशहरूमा सांगितीक प्रस्तुती दिएका थिए ।

०७२ सालमा गएको महाभूकम्प पछि बिपन्न परिवारका लागी ‘मिलन होम’ योजना अन्तर्गत उनले अहिलेसम्म सात वटा घर निर्माण गरिसकेका छन् । आफ्नै पहलमा बिभिन्न सहयोग र बिभिन्न सांगितीक कार्यक्रमबाट उठेको रकमबाट उनले बिपन्न परिवारहरुलाई घर निर्माण गर्दै आएका छन् । यसपालीको युरोप भ्रमणबाट पनि एक घर निर्माण गर्ने योजना बनाएको मिलनले बताए ।

मिलनका ‘माझि दाई पोखरा फेवा तालको’, ‘झल्को लाली ओठको’, ‘हङकङ आईडीले’, ‘वेलकम वेलकम नेपाल’, ‘लालु पाते’ गीत चर्चित छन् ।