मुण्डन लुक्समा रिसाहा दीपशिखा

काठमाडौं । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने फिल्म ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने सार्वजनिक फस्टलुकमा दीपशिखालाई मुण्डन लुक्समा रिसाहा रुप देखाइएको छ ।

फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय छ । खान र खड्काले यसै फिल्मबाट डेब्यु गरेका हुन् । दीपशिखाले यसअघि केही फिल्ममा अभिनय गरे पनि ‘प्रेमलिला’ नै आफ्नो डेब्यु फिल्म रहेको बताइन् । ‘मैले आठ वर्षको अवधिमा थुप्रै फिल्ममा अभिनय गरें । तर मलाई कुनै पनि फिल्मले चिनाएनन् । त्यसैले मैले पनि यसलाई डेब्यु फिल्म नै ठानेकी छु,’ खड्काले भनिन्,‘यो फिल्मको गेटअपमा रहन सुटिङदेखि अहिलेसम्म ५ चोटि कपाल काटेको छु ।

दुबईका मोडल अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् । उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले फिल्म खेल्न एप्रोच गरेका कारण फिल्म खेलेको बताए ।

दीपशिखा खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् । जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।