मंसिरमा करोडपति बनाउँदै राजेश हमाल

काठमाडौं । अन्तर्राष्ट्रिय रुपमै लोकप्रियता हासिल गरेको कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’को नेपाली संस्करण ‘को बन्छ करोडपति नेपाल’ को सञ्चालन अभिनेता राजेश हमालले गर्ने भएका छन् । भारतमा लोकप्रियता हासिल गरेको प्रतियोगितामुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ नेपालीहरुबीच पनि लोकप्रिय रहँदा नेपाली संस्करणको सञ्चालन हमालले गर्ने जमर्को गरेका हुन् ।

बेलायतबाट सन १९९८ मा सुरु भएको विश्व प्रसिद्ध कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’ विश्वका १ सय ६१ देशबाट फ्रेन्चाईजको रुपमा प्रशारण भईसकेको छ । यही प्रतियोगिताको नेपाली संंस्करणको रुपमा केविसी नेपाल (को बन्छ करोडपति नेपाल) आउँदो ंमंसिरको पहिलो साताबाट एचडी च्यानल एपी वान टेलिभिजनमार्फत प्रशारण हुँदैछ ।

‘अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हासिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ । को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीहरुलाई बौद्धिकसँगै आर्थिक रुपमा पनि धेरै हदसम्म सबल बनाउने छ ।’ बिहीबार पत्रकारमाझ हमालले भने ।

कार्यक्रममा केविसी नेपाल (को बन्छ करोडपति नेपाल)को प्रोमो पनि रिलिज गरिएको छ । प्रोमोमा बलिउड अभिनेता तथा कौन बनेगा करोडपतिका सञ्चालक अमिताभ बच्चनले ‘नमस्कार नेपाल, तपाईहरु सन्चै हुनुहुन्छ’ भन्ने नेपाली संवाद बोलेका छन् । आयोजक विपिनकुमार आचार्यले नेपालीहरुलाई खेल खेलाउँदै आर्थिक रुपमा समृद्ध र अझ बौद्धिक बनाउन आफुहरुले को बन्छ करोडपति नेपाल कार्यक्रम टेलिभिजनमार्फत सञ्चालन गर्न लागेको बताए ।