‘छक्का पन्जा ३ ले अभिनय क्षमता बढाईदियो’

काठमाडौं । नायिका दीपिका प्रसाईं ‘डेब्यु’ फिल्म ‘ऐश्वर्य’बाट चर्चामा आइन् । यो फिल्ममा उनको अभिनय त थियो नै फिल्मको चर्चित गीत ‘तिमी रोएको पल’ले दीपिकाको सुन्दरतालाई नयाँ ढंगबाट उजागर गरिदियो । यिनै दीपिका आगामी असोज २४ गते अर्थात् घटस्थापनाबाट रिलिज हुन लागेको फिल्म ‘छक्का पन्जा ३’मा शैक्षिक अभियन्ताको भूमिकामा देखिँदैछिन् ।

फिल्म ‘ऐश्वर्य’ रिलिज पछि उनी केही समय गुमनाम जस्तै भइन् । ‘ऐश्वर्यको प्रतिक्रिया कस्तो आउँछ भनेर केही समय बसें । ऐश्वर्य पछि मलाई झण्डै १० वटा फिल्मको अफर आएका थिए । तर कुनै पनि चित्त बुझ्दा थिएनन्,’हालैको भेटमा दीपिकाले भनिन्,‘यही समयमा दीपकराज गिरी र दीपाश्री निरौलाले छक्का पन्जा ३ का लागि अफर गर्नुभयो । म पनि राम्रो र ठूलो व्यानरको फिल्ममा काम गर्न चाहन्थें ।’

दीपिकाले ‘डेब्यु’ फिल्ममा भन्दा ‘छक्का पन्जा ३’मा गरेको अभिनय परिपक्क रहेको दाबी गरिन् । ‘ऐश्वर्य भन्दा छक्का पन्जा ३ मा मेरो अभिनय परिपक्क छ,’उनले भनिन्,‘ऐश्वर्यबाट अभिनय के हो भन्ने कुरा सिकें । छक्का पन्जा ३ ले अभिनय क्षमता बढाइदियो ।’

फिल्म ‘छक्का पन्जा ३’की निर्देशक दीपाश्री निरौलाले फिल्मको कथा अनुसार दीपिकालाई छनौंट गरिएको खुलाइन् । ‘हामीले दीपिकाको अभिनय नै नहेरी गीत हेरेर उनलाई छान्यौं । फिल्मको कथा अनुसार ग्ल्यामर र बोल्ड नायिकाको आवश्यकता परेपछि त्यो दायरामा दीपिका परिन् ।’ दीपाश्रीले भनिन् । फिल्म ‘छक्का पन्जा ३’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नीर शाह, लक्ष्मी गिरी, विल्सनविक्रम राईलगायतको अभिनय छ ।