फागुनमा फूटबल खेल्दै अनमोल

काठमाडौं । नायक अनमोल केसीले आगामी फागुन १७ गते फूटबल खेल्ने भएका छन् । उनले यो फूटबल कुनै खेल मैदानमा नभई नेपालमा रहेका फिल्म हलमा खेल्न लागेका हुन् । यो दिन उनी अभिनित छैटौं फिल्म ‘क्याप्टेन’ अल नेपाल रिलिज हुँदैछ । फिल्मका निर्माता भुवन केसी तथा वितरक मनोज राठीले महाशिवरात्रीको छेको पारी फागुन १७ गतेलाई मिति तोकेका हुन् । महाशिवरात्री फागुन २० गते पर्दछ ।

गाउँको एक युवाले फूटबल खेलमा गरेको संघर्षलाई प्रस्तुत गरिएको फिल्ममा दिवाकर भट्टराईको निर्देशन छ । दिवाकरले यसअघि भुवनको क्रिएटिभ डाइरेक्टरका रुपमा फिल्म ‘ड्रिम्स’ निर्देशन गरेका थिए । यो फिल्ममा अनमोलको अपोजिटमा साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय थियो ।

भीएफएक्स प्रविधिको बाहुल्यता रहने ‘क्याप्टेन’ मा उपासना सिंह ठकुरी र प्रियंका एमभीले नायिकाको रुपमा डेब्यु गर्दैछन् । फिल्ममा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।