‘जिरोले ३ सय ५० करोडको आँकडा पार गर्छ’

मुम्बई(एजेन्सी) । बलिउड बादशाह शाहरुख खानको फिल्म ‘जिरो’ यो वर्षकै प्रतिक्षित फिल्ममा पर्दछ । पछिल्लो लामो समयदेखि किङ खानको जादु बक्स अफिसमा खासै देख्न सकिएको छ । एकपछि अर्को गर्दै उनी अभिनित फिल्मले फ्लप व्यापार गरिरहेका छन् ।

तर फिल्म ‘जिरो’बाट अभिनेता शाहरुख मात्र होइन, फिल्मका निर्देशक आनन्द एल राय पनि फिल्म चल्नेमा आशावादी छन् । निर्देशक आनन्दका अनुसार यो फिल्मले बक्स अफिसमा कमाईको मामलामा धेरै रेकर्ड तोड्नेछ ।

हालै मात्र निर्देशक आनन्दलाई उनका एक फ्यानले ट्वीटरमा ‘के जिरोले बक्स अफिसमा ३ सय ५० करोडको आँकडालाई छुन्छ’ भन्दै प्रश्न सोधेका थिए । आनन्दले उनलाई रिट्वीट गर्दै ‘यदि फिल्म राम्रो बनेको छ भने ३ सय ५० करोडको आँकडालाई पार गर्न कुनै समस्या पर्दैन’ लेखेका छन् ।

उनले आफूले राम्रो फिल्म बनाएको दाबी गर्दै आफूलाई फिल्म बनाउँदा जति रमाइलो भएको छ, यो फिल्म हेर्दा दर्शकलाई त्यो भन्दा बढी रमाइलो लाग्ने बताए । आनन्दको यसअघि ‘तनु वेड्स मनु’, ‘तनु वेड्स मनु रिटन्र्स’ र ‘रांझणा’ जस्ता फिल्म बक्स अफिसमा ब्लकब्लष्टर साबित भइसकेका छन् । फिल्म ‘जिरो’मा शाहरुखका अलावा कटरीना कैफ र अनुष्का शर्मा प्रमुख भूमिकामा छन् । डिसेम्बर २१ मा रिलिज हुने फिल्ममा शाहरुख होचो पुड्को भूमिकामा छन् ।