नेपाली बालबालिकाको कथालाई जर्मनीमा अवार्ड

मुम्बई(एजेन्सी) । भारतीय नायिका तथा निर्मात्री प्रियंका चोपडाले निर्माण गरेको फिल्म ‘पाहुना–दी लिटिल भिजिटर्स’ले जर्मनीमा भएको ‘सिलिङ्गेल इन्टरनेशनल फिल्म फेस्टिभल फर चिल्ड्रेन एण्ड यङ अडियन्स’मा दुई अवार्ड जितेको छ । फेस्टिभलमा फिल्मले ‘युरोपियन चिल्ड्रेन्स फिल्म अवार्ड’ र ‘अवार्ड अफ दी प्रोफेसनल जुरी फिचर फिल्म इन्टरनेशनल’ विधाको अवार्ड जितेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार फेस्टिभलमा फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । अक्टोबर २ देखि ५ सम्म चलेको फेस्टिभलमा फिल्मले अक्टोबर ६ मा अवार्ड जितेको हो ।

प्रियंकाको यो फिल्मले अभिभावकबाट छुट्टिएका तीन नेपाली बालबालिका र उनीहरुको घर फिर्तीको यात्रालाई प्रस्तुत गरेको छ ।सिक्किममा बनेको यो फिल्ममा पाखी ए टायरवालाको निर्देशन छ । फिल्म प्रियंका र उनकी आमा मधु चोपडाको व्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो ।