काठमाडौं । केही समय अघि पोखरामा मुहुर्त गरिएको फिल्म ‘ए मेरो हजुर ३’ले शुक्रबारबाट औपचारिक छायांकन शुरु भएको छ । सुनिलकुमार थापाले निर्माण गर्न लागेको फिल्मको फष्टलुक सार्वजनिक भएसँगै सुटिङ पनि शुरु भएको हो ।
झरना थापाले निर्देशन गर्ने फिल्मको फष्टलुकमा अनमोल केसी र झरनापुत्री सुहाना थापालाई देख्न सकिन्छ । दुई फष्टलुकमध्ये एक फष्टलुकमा अनमोल र सुहानालाई प्रेमिल मुडमा देख्न सकिन्छ भने अर्को फष्टलुकमा अनमोलको गीतार धुनमा सुहानालाई मोहित अवस्थामा देख्न सकिन्छ । सुहानाको यो डेब्यु फिल्म हो ।
चैत २९ गते रिलिज हुने फिल्ममा अनमोल एक गायक र सुहाना एक फ्यानकोे भूमिकामा देखिनेछन् । सांगीतिक प्रेमकथाको फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व र सञ्जय लामाको छायांकन हुनेछ ।