जय भोलेका खगेन्द्रः ‘डन बन्न डराएको थिएँ’

काठमाडौं । आगामी मंगलबार अर्थात फूलपातीको दिनबाट निर्माता तथा निर्देशक अशोक शर्माको फिल्म ‘जय भोले’ प्रदर्शनमा आउँदैछ । झण्डै १२ वर्ष पछि फिल्म निर्देशनमा पुनरागमन गर्न लागेका अशोक फिल्मका कलाकारको टोली लिएर यतिबेला प्रमोसनमा व्यस्त छन् ।

यो फिल्ममा अभिनेता खगेन्द्र लामिछाने ‘डन’ चरित्रमा छन् । उनलाई फिल्ममा अशोकले झापाको एउटा सानो सहरको ‘जय डन’ पात्रको भूमिका दिएका छन् । खगेन्द्रका अनुसार यो भूमिका निभाउन खगेन्द्र डराएका थिए ।

‘यो भूमिका निर्वाह गर्न मलाई सुरुमा पटक्कै मन लागेन । सुनको सिक्री लगाएर हुलदंगा गर्दै हिड्ने एउटा केटाको भूमिका समाजको नजरमा पनि राम्रो हैन । त्यसैले मलाई यो भूमिका सुहाउँदैन भनेर अरूलाई नै अभिनय गराउन निर्माता निर्देशक अशोक शर्मालाई अनुरोध गरेंं,’खगेन्द्रले कारण खुलाए, ‘तर, निर्देशक शर्माले एउटा कलाकार भएपछि विविध भूमिका निर्वाह गर्नुपर्छ भन्दै धेरै कलाकारहरूको उदाहरण दिएपछि आफु यो भूमिकाको लागि तयार भएँ ।

खगेन्द्रले फिल्ममा आफ्नो भूमिका हाँस्य शैलीको भए पनि त्यो भूमिका उत्तिकै गम्भीर पनि रहेको दाबी गरे । ‘एउटा कलाकार भएपछि जस्तो पनि भूमिका निर्वाह गर्नुपर्छ । हास्यप्रधान भए पनि मेरो भूमिका त्यत्तिकै गहन, गम्भिर र जिम्मेवार छ,’ उनले भने ।

खगेन्द्रका अनुसार साथी–साथीबीचको सम्बन्धको कथा उठान गरिएको फिल्मले उनीहरुको सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गर्नेछ । फिल्ममा खगेन्द्रको साथीको भूमिकामा सौगात मल्ल, प्रेमिकाको भूमिकामा स्वस्तिमा खड्का र मितको भूमिकामा बुद्धि तामाङ छन् । खगेन्द्रले यो फिल्मको स्क्रिप्ट झण्डै एक वर्ष लगाएर लेखेका हुन् ।