अफ्सनालाई सुशान्तको ए माया

काठमाडौं । सम्पादनको अन्तिम चरणमा रहेको फिल्म ‘रुमालै छ चिनो’ को ‘ए माया’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा अर्जुनसँगै अञ्जु पन्तको स्वर छ । गीतमा नायक सुशान्त कार्की र नायिका अफ्सना थापा फिचर्ड छन् । लोक शैलीमा निर्माण गरिएको यस गीतको भिडियोमा सागर लामाको कोरियोग्राफी छ ।

फिल्म काठमाडौं, ललितपुर, रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न छायांकन गरिएको हो । फिल्म मंसिरमा रिलिजको तयारी छ । दिनेशसिंह ठकुरीले निर्देशन गरेको फिल्ममा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, अफ्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, शान्ति श्रेष्ठ, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

गोरखा सैनिकमा भर्ती भएको एउटा वीर गोर्खालीको सपनामा केन्द्रित फिल्ममा वनोद सापकोटाको छायांकन र शिव थारुको सम्पादन छ । ज्योति फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्म चन्द्रबहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ बाट यस फिल्मको नाम राखिएको निर्देशक ढकुरीले बताए ।