सय करोडमा बिक्यो शाहरुखको जीरो

मुम्बई(एजेन्सी) । बलिउड बादशाहका रुपमा परिचित अभिनेता शाहरुख खान डेढ वर्ष पछि फिल्म ‘जीरो’ मार्फत ठूलो पर्दामा फर्किदैछन् । यो फिल्मबाट शाहरुखले नयाँ चर्चा पाउनेमा उनका प्रशंसक आशावादी छन् । फिल्मको ट्रेलर आगामी नोभेम्बर २ मा शाहरुखको जन्मदिनको अवसर पारेर सार्वजनिक हुँदैछ ।

समाचार अनुसार फिल्मको वितरण अधिकार सय करोड रुपैंयाँमा विक्री भएको छ । सय करोडमा फिल्मको वितरण अधिकार विक्री भए पनि यो फिल्मले १ सय ९० करोडको कलेक्सन गर्नुपर्ने हुन्छ ।

शाहरुखका फिल्म यसअघि एमजीमा बेचिने भए पनि यसपटक भने एडभान्स बेसिसमा बेचिएको छ । यदि वितरकलाई फिल्मबाट घाटा भएमा उनीहरुले रिफन्डका लागि क्लेम गर्न सक्नेछन् । फिल्म ‘जीरो’को वितरण अधिकार सय करोडमा बेचिए पनि यो सन् २०१५ मा रिलिज फिल्म ‘दिलवाले’ भन्दा कम हो । ‘दिलवाले’को त्यो समयमा १ सय ३० करोडमा वितरण अधिकार बेचिएको थियो ।

‘जीरो’ रिलिजको अघिल्लो हप्ता रोहित सेठ्ठीको फिल्म ‘सिम्बा’ रिलीज हुँदैछ । त्यसकारण पनि शाहरुखको फिल्म कम मूल्यमा विक्री भएको हो । आनन्द एल राय निर्देशित फिल्म ‘जीरो’ डिसेम्बर २१ मा रिलिज हुँदैछ । फिल्ममा शाहरुखबाहेक कटरीना र अनुष्का शर्मा पनि छन् । फिल्मको टिजरमा सलमान खानलाई पनि देखिएको थियो ।