दि ब्रेकअपमा आशिरमान–शिल्पाको भेट

काठमाडौं । फिल्म ’दि ब्रेकअप’ को पहिलो डान्सिङ नम्बरको गीत ‘आज हाम्रो भेट’ सार्वजनिक भएको छ । तिहार नजिकिँदै गर्दा फिल्मको प्रचारका लागि पुरानो फिल्म ‘ज्वाला’को चर्चित गीत ‘आज हाम्रो भेट’को रिमेक भर्सनलाई सार्वजनिक गरिएको हो ।

फिल्म ‘ज्वाला’ मा समावेश गीतमा बुद्धवीर लामाको शब्द र शिलाबहादुर मोक्तानको संगीत र आशा भोस्ले तथा उदितनारायण झाको स्वर थियो । तर नयाँ भर्सनको गीतमा विराज गौतम र मेलिना राईले स्वर दिएका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा ’दि ब्रेकअप’का मुख्य कलाकारहरु सरोज खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर छन् ।

हेमराज बिसीको निर्देशनमा बनेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीको लगानी छ । नेपाल र अष्ट्रेलियामा छायाँंकन गरिएको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । फिल्म पुष २७ गते प्रदर्शन हुँदैछ ।