लसएञ्जल्स(एजेन्सी) । ओस्कार अवार्ड विजेता फिल्म ‘स्ल्मडग मिलेनियर’बाट अभिनयमा डेब्यु गरेका भारतीय मूलका ब्रिटिस अभिनेता देव पटेलले फिल्म निर्देशनमा पाइला चाल्ने भएका छन् । देव रिभेन्ज थ्रिलर फिल्म ‘मंकी मेन’मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
समाचार अनुसार देवको फिल्ममा फिल्म ‘लायन’का अभिनेताले अभिनय गर्नेछन् । फिल्मको कथा एक युवाको वरीपरी घुम्नेछ । जो कर्पोरेट लालच र गिर्दै गएको आध्यात्मिक मूल्यबाट प्रभावित विश्वका विरुद्ध लड्न जेलबाट निस्केका हुन्छन् ।
आधुनिक भारतको परिवेशमा फिल्मको छायांकन गरिनेछ । जसमा पौराणिक कथा पनि जोडिनेछ । देवले पल अंगुनावेला र जोन कोलीसँग मिलेर पटकथा लेखेका छन् । थोमस, समर्थन साहनी र पटेलसँग ‘थण्डर रोड’का बासिल इवानिक मिलेर फिल्म निर्माण गर्नेछन् ।
फिल्मको सुटिङ सन् २०१९ मा मुम्बईबाट शुरु हुनेछ । पटेलको आगामी फिल्ममा ‘द पर्सनल हिस्ट्री अफ डेविड कपरफील्ड’ र ‘होटल मुम्बई’ छन् ।