‘वीर विक्रमभन्दा वीर विक्रम २ फरक’

काठमाडौं । दुई वर्ष अघि उत्कृष्ट व्यापार गरेको फिल्म ‘वीर विक्रम’को दोश्रो श्रृंखला ‘वीरविक्रम २’ निर्माण हुने भएको छ । फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले नयाँ फिल्म अघिल्लो संस्करण भन्दा फरक हुने बताए । ‘यो फिल्म वीरविक्रम भन्दा फरक हुनेछ । किनकी यस्तो कथा बस्तु आफैमा फरक छ ।’ राजधानीमा बिहीबार पत्रकारमाझ चाम्सले भने ।

पत्रकारमाझ फिल्म युनिटले व्याण्डबाजासहित कलाकार सार्वजनिक गरेको थियो । फिल्ममा नाजिर हुसेन, आकाश श्रेष्ठ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी र बाल कलाकार मनिष लिम्बुको अभिनय हुनेछ ।

फिल्ममा अर्पण सापकोटा सह–निर्माता, प्रदीप भारद्वाजको कथा र पटकथा, रन्जित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । कात्तिक २६ गतेबाट फ्लोरमा जाने फिल्म २०७६ को नयाँ वर्षमा रिलिज हुनेछ ।