कोख खाली हुँदाको पीडामा नम्रता

काठमाडौं । निसन्तान दम्पत्ति हुँदाको पीडा ती दम्पत्तिलाई मात्र थाहा हुन्छ । जो यो समस्याबाट गुज्रिरहेका छन् । नायिका नम्रता श्रेष्ठ अहिले यस्तै समस्याबाट गुज्रिरहेकी छन् । हालसम्म अविवाहित नम्रता कसरी निसन्तान समस्याबाट गुज्रिरहेकी छिन् भन्ने प्रश्न उठ्न सक्ला । तर नम्रताको यो समस्या वास्तविक जीवनमा भने होइन ।

सुवास थापाको निर्माण र दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘प्रसाद’को शुक्रबार सार्वजनिक ट्रेलरमा नम्रताले फिल्ममा पतिको भूमिकामा अभिनय गरेका विपिन कार्कीसँग ‘एउटा लोग्ने मान्छेलाई के थाहा आइमाइ मान्छेको कोख खाली हुँदाको पीडा’ भनेर मनछुने संवाद बोलेकी छन् ।

ट्रेलरमा निसन्तान दम्पतीको सुखद जीवनमा एक युवकको प्रवेशले पार्ने असरलाई पनि देखाइएको छ । फिल्ममा निश्चल बस्नेतले ती युवकको भूमिकामा अभिनय गरेका छन् । पत्रकार सुशिल पौडेलको पटकथा तथा संवाद रहेको फिल्मको ‘लै लै लै’ र ‘वनकी चरी के भन्छे के भन्छे’ गीत निकै चर्चामा छ । फिल्म मंसीर २१ मा रिलिज हुँदैछ ।