काठमाडौंमा प्रेम टुंग्याउँदै प्रदिप–जसिता

काठमाडौं । इलाम र दार्जिलिङको छायांकन पछि फिल्म ‘लभ स्टेसन’ युनिट काठमाडौं फर्किएको छ । दुई सुन्दर लोकेशनमा छायांकन गरेर काठमाडौं फर्किएको टिमले काठमाडौंमा अन्तिम चरणको छायांकन गरिरहेको छ । फिल्म ‘लिली बिली’ जोडी प्रदिप खड्का र जसिता गुरुङको रोमान्स रहेको फिल्मका दुई ओटा गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सक्ने तयारीमा फिल्म युनिट लागेको हो ।

उज्जवल घिमिरेको कथा र निर्देशनमा बनिरहेको फिल्म दार्जिलिङ, कालिङपोङ, खर्साङ र मिरिकमा ६० प्रतिशत तथा इलामको पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकेर फिल्म युनिट दुई दिन अघि काठमाडौं आइपुगेको थियो ।

फिलमका निर्माता गोविन्द शाहीका अनुसार तिहारसम्ममा फिल्मको छायाँंकन सकिनेछ । ‘हामीले लक्ष्मीपुजासम्म करिब ९० प्रतिशत छायाँकन सक्नेछौं । अब तिहार पछि बाँकी एउटा गीत मनाङमा र एउटा गीत जापानमा खिच्नेछौं,’निर्माता शाहीले भने,‘हामीले तोकेको निर्धारित ४५ दिन भित्रै फिल्मको सम्पूर्ण छायाँकन सम्पन्न हुँदैछ । लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देशव्यापी सिनेमा हलमा रिलिज गर्नेछौं ।’

सांगीतिक प्रेमकथाको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको अभिनय छ । काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा आलोक शुक्लाको छायांकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।