कोरियामा नेपाली मोडललाई सफलता

काठमाडौं । कोरियाको इन्चियन शहरमा आयोजना भएको ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपाललाई सफलता हात परेको छ । कार्यक्रममा विक्रम आदित्य महासेठ र रुविष्का श्रेष्ठले ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’, अदिति अधिकारीले ‘फेसननिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्श ज्ञवालीले ‘बेष्ट पर्सनालिटी’ अवार्ड जिते ।

कोरियोको इन्चियोनको सोङडो अन्तर्राष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म अर्थात (११ कात्तिकदेखि १५ कात्तिकसम्म) आयोजित कार्यक्रममा सहभागी नेपाली मोडलले अवार्डं जितेका हुन् । अवार्डमा सहभागी अदिति नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन् । रुविष्का र आदर्श कार्यक्रमको फस्र्ट रनर अप र थर्ड रनरअप विजेता हुन् ।

अर्का सहभागी विक्रम ‘मोडल हन्ट नेपाल २०१७’ का विजेता हुन् । उनी २०१८ कै एशिया मोडल फेस्टीभल फेस अफ नेपाल विजेता पनि हुन् । सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका हुन् । सबै सहभागी मंगलबार काठमाडौ फर्किने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए ।