गुनगुनका पुकार भन्छन्ः ‘नयाँ फिल्म मेकरलाई सहज छैन’

काठमाडौं । टेलिसिरियलमा अभिनयको अनुभवलाई फिल्म निर्देशनमा प्रस्तुत गरेका निर्देशक पुकार भट्टराई निर्देशकीय ‘डेब्यु’ फिल्म ‘गुनगुन’को प्रमोसनमा व्यस्त छन् । आगामी कात्तिक ३० गतेबाट रिलिज हुन भएकाले पनि उनीसहित फिल्म युनिटलाई फिल्मको प्रमोसनको ठूलो चटारो छ ।

फिल्मको प्रमोसनकै लागि विभिन्न इभेन्टमा सहभागी हुने योजना बनाइरहेका पुकार सिरियल भन्दा फिल्म निकै गाह्रो भएको अनुभव सुनाउँछन् । ‘फिल्म बनाउन भन्दा चलाउन गाह्रो रहेछ । हामी जस्ता नयाँ फिल्म मेकरलाई सहज छैन । किनकी निर्माण मात्र होइन प्रदर्शनमा पनि निकै गाह्रो छ,’उनले भने, ‘मलाई पहिला अनुभव थिएन । किनकी सिरियलमा सहजता नै थियो । यतिबेला भने मैले धेरै सिक्दैछु । फिल्म त बुझ्दैछु नै यहाँको शैलीलाइ पनि जान्दैछु ।’

उनले फिल्मको कथा वस्तु मनपरेकोले आफू निर्माण र निर्देशनमा अग्रसर बनेको बताए । ‘फिल्म पारिवारिक प्रेम कथामा आधारित छ । यसले यतिबेलाको समसामयिक केहि चिजलाई पनि उठान गरेको छ । फिल्मको कथा वस्तु अनुसार सुहाउदो कलाकारलाई लिएर फिल्म तयार गरेको छु ।’ पुकारले भने ।

प्रार्थना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा सञ्चिता लुँइटेल, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदिप राई, विपिन प्रसाई र निर्देशक भट्टराईको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।

तस्बिरः आर्यन विमली