दीपिका–रणवीर विवाहमा चार निम्तालु मात्रै !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आगामी नोभेम्बर १४ मा विवाह गर्दैछन् । उनीहरु इटालीको लेक कोमोस्थित विला डेल बल्बियानेल्लोमा विवाह गर्दैछन् । उनीहरुको विवाहमा केवल औलामा गन्न सकिने अर्थात चारजना बलिउडकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ ।

समाचार अनुसार विवाह हुन दुई हप्ता बाँकी रहँदा उनीहरुले निम्तालुको सूची पनि फाइनल गरिसकेका छन् । अत्यन्त निजी तवरबाट गर्न लागिएको यो विवाहमा दीपिकाले अभिनेता शाहरुख खान र निर्देशक फराह खानलाई मात्र निम्तो दिएकी छन् । दीपिकाले फराहको फिल्म ‘ओम शान्ति ओम’बाट आफ्नो करियर शुरु गरेकी थिइन् । जसमा शाहरुख खान हिरो थिए ।

दीपिका र रणवीर सिंहको जीवनमा निर्माता–निर्देशक आदित्य चोपडा र सञ्जय लीला भन्सालीको पनि महत्वपूर्ण स्थान छ । यो जोडीले आदित्य र सञ्जयलाई पनि विवाहमा निम्तो दिएका छन् । दीपिका र रणवीरले भन्सालीसँग फिल्म ‘राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’मा काम गरेका थिए । जबकी रणवीरको करियर यशराजले शुरु गरिदिएका थिए ।

रणवीरले यशराजबाट बनेका ‘लेडीज भर्सेज रिक्की बहल’, ‘बेण्ड बाजा बारात’, ‘किल दिल’ र ‘बेफिक्रे’मा काम गरिसकेका छन् । इटलीमा विवाह पछि जोडीले इटाली र भारतको मुम्बईमा पार्टीको आयोजना गर्दैछन् ।