देउसी भैलोमा ड्रिम गर्ल प्रचार

काठमाडौं । आगामी मंसीर ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ड्रिम गर्ल’ युनीटले तिहारको अवसर पारेर बसुन्धरास्थित साझा चुलोमा देउसी भैलो कार्यक्रम गरेको छ । फिल्मले प्रचारप्रसार तथा नेपाली कला संस्कृतिको रक्षार्थ देउसी भैलो खेलेको जनाएको छ ।

देउसी भैलोमा फिल्मकी शीर्ष अभिनेत्री आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, पूजा पराजुली, शिशिर भण्डारीका साथमा फिल्ममा निर्देशक ऋषिराज आचार्य र सहनिर्माता रामेश्वर धिताललगायतले भैलो खेलेका थिए । कार्यक्रममा अभिनेता आकाश र शिशिरले देउसीरे भट्याएका थिए भने उनीहरुलाई निर्देशक आचार्य, निर्माता धिताल, अभिनेत्री आश्मा, पूजा पराजुलीलगायत उपस्थित सर्वसाधरण र भैली टोलीले साथ दिएका थिए ।

कार्यक्रममा आकाश, शिशिर, आश्मा र पूजाले फिल्मको ‘फूल टिपेर चढाए मैले’ बोलको गीतमा नृत्य गरेका थिए । निर्देशक आचार्यले कलासंस्कृति र परम्पराको निरन्तरता स्वरुप देउसी भैलो कार्यक्रम आयोजना गरिएको बताए ।

आरबि मुभीजले दक्षिण भारतीय कम्पनी रिल एण्ड रियल सिनेमासंगको सहकार्यमा निर्माण गरेको फिल्ममा आकाश, आश्मा, शिसिर र पूजाका साथमा विल्सन बिक्रम राई, रश्मी भट्ट, अर्जुन श्रेष्ठ,लक्ष्मी गिरीलगायतका कलाकारले अभिनय गरेका छन् ।  निर्देशक आचार्य आफैले लेखेको फिल्मको निर्मातामा अर्जुन शर्मा छन् । नवीन निरौलाले सम्पादन गरेको फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत छ ।