ठग्स अफ हिन्दुस्तानले तोड्यो पाँच रेकर्ड

मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले समिक्षकबाट नकारात्मक प्रतिक्रिया पाइरहे पनि यसले बक्स अफिसमा भने सर्वाधिक ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन नै ५२ करोडको कलेक्सन गरेर कैयौं रेकर्ड तोडिदिएको छ ।

फिल्मले ओपनिङको मामलामा पाँच फिल्मको रेकर्ड तोडेको छ । हालसम्मको रेकर्डमा सञ्जय दत्तको फिल्म ‘सन्जु’ले ३४ दशमलब ७५ करोड, सलमान खानको ‘रेस ३’ले २९ दशमलब १७ करोड, अक्षय कुमारको ‘गोल्ड’ले २५ दशमलब २५ करोड र टाइगर श्राफको ‘बागी २’ले २५ दशमलब १० करोडको ओपनिङ रेकर्ड राखेको थियो । यी पाँचैवटा फिल्मको रेकर्ड तोड्दै ‘ठग्स अफ हिन्दुस्तान’ले ५२ करोडको ओपनिङ गरेको हो ।

फिल्मले भारतमा सर्वाधिक बढी पर्दामा रिलिज हुने फिल्मको नाम पनि आफ्नो पक्षमा दर्ता गराएको छ । यो फिल्म भारतका करिब ५ हजार स्क्रिनमा देखाइएको थियो ।  फिल्मले दिपावली अर्थात दिवाली रिलिजको पहिलो दिनि सर्वाधिक कमाईको अर्को रेकर्ड पनि राखेको छ । यशराज फिल्मको व्यानरमा बनेको फिल्मले यो व्यानरमा बनेको अहिलेसम्मका फिल्ममध्ये पहिलो दिन सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड पनि बनाएको छ । फिल्मले ओपनिङ डेमा सर्वाधिक कमाउने रेकर्ड पनि बनाएको छ ।

भारतमा शनिवार र आइतबार पनि विदा पर्ने भएकाले सबैभन्दा छिटो करोड क्लबमा नाम लेखाउन सक्ने फिल्मका रुपमा पनि यो फिल्मलाई हेरिएको छ । फिल्म रिलिज अघि झण्डै दुई लाख टिकट बुक गरिएको थियो । यो फिल्म तमिल र तेलुगू भाषामा पनि रिलिज गरिएको छ ।