ज्याकुलिन अब साइकलवाली

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिज हालका दिनमा सन् २०१६ को कन्नड हिट फिल्म ‘किरिक पार्टी’को रिमेकको काममा व्यस्त छिन् । यो फिल्ममा ज्याकुलिनाका साथ कार्तिक आर्यन पनि देखिँदैछन् ।

बलिउड नायिकाहरु प्रियंका चोपडा र श्रद्धा कपुर पछि ज्याकुलिन बायोपिकमा देखिन लागेकी हुन् । समाचार अनुसार भारतीय साइक्लिष्ट देबोराह हेरोल्डको जीवनमा आधारित फिल्ममा उनी आउँदैछिन् । ‘ज्याकुलिनलाई यो फिल्मको स्क्रिप्ट निकै मनपरेको छ । उनले फिल्ममा काम गर्ने मौखिक सहमति दिइसकेकी छन् । देबोराहको कथा निकै प्रेरणादायक रहेकाले यो फिल्मका लागि ज्याकुलिनले निकै कडा मेहनत र तालिम लिनुपर्नेछ । फिल्मको छायांकन आगामी वर्षबाट शूरु हुनेछ ।’ ज्याकुलिन निकट स्रोतले भन्यो ।

२३ वर्षीया भारतीय साइक्लिष्ट देबोराहको जन्म अण्डमान र निकोबार द्वीप समूहमा भएको थियो । सन् २००४ मा आएको सुनामीमा उनी पोर्ट ब्लेयरमा थिए । उनले एक हप्ता रुखको मुनी बसेर बिताएकी थिइन् । २०१३ मा उनी नयाँदिल्लीमा बसेर इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा तालिम लिइन् । देबोराह हाल सन् २०२० को टोकियो ओलम्पिकको तयारी गरिरहेकी छन् ।