दर्शक नचाउन सयकडा दशको दाईलाई कुरा लाइदिनी

काठमाडौं । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’को पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’ सार्वजनिक भएको छ । कल्याण सिंहको संगीत, फिल्मका निर्देशक रामशरण पाठकको शब्द र तृषला गुरुङ र सन्देश पाठकको स्वर रहेको गीत डान्सिङ नम्बरको छ ।

गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोलले फिचरिङ गरेका छन् । पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको गीतमा वैवाहिक समारोहलाई चित्रण गरिएको छ ।

निर्देशक पाठकका अनुसार फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा देखाउनेछ । हाँस्य कलाकार मनोज गजुरेलको डेब्यु अभिनय रहेको फिल्ममा राजाराम पौडेललाई पनि देख्न सकिन्छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा रज्जु प्रधान र उत्तम खत्रीको लगानी छ । रज्जु र उत्तमलाई साजन थापाले लगानीमा सहयोग गरेका छन् । निर्मात्री रज्जुका अनुसार नेपाल प्रदर्शनपूर्व थाइल्यान्ड र म्यानमारमा फिल्म देखाइनेछ । नेपाली फिल्मको बजार अध्ययनका लागि रज्जु यो समयमा युरोप भ्रमणमा छिन् । फिल्म माघ १८ मा अल नेपाल रिलिज हुँदैछ ।