काठमाडौं । दुई दशक अघि निर्माण भएको सुपरहिट फिल्म ‘साइनो’सँग मिल्दोजुल्दो नाम ‘साइनो’ राखेर नयाँ फिल्मको घोषणा गरिएको छ । २०२२ सालमा नेपालमा बनेको पहिलो फिल्म ‘आमा’की नायिका भुवन चन्द थापाले फिल्म निर्माण गर्न लागेकी हुन् ।
फिल्मकी प्रस्तुतकर्तासमेत रहेकी अभिनेत्री भुवनले लामो समयपछि फिल्म निर्माणको साइत जुरेको बताइन् । ‘पहिला मलाई फिल्म निर्माण गर्ने मन नै थिएन । तर यसपटक आत्मादेखि नै फिल्म निर्माण गर्नुपर्छ भन्ने जोश आयो । यसपटक चाहिँ साइत जुरेको रहेछ,’भुवनले भनिन्,‘हामीले फिल्मको नाम ‘नाता’ वा ‘साइनो’ राख्ने भन्नेमा सहमत थियौं । तर कथा अनुसार ‘साइनो’ उपयुक्र्त ठहरियो ।’ उनले फिल्मको नाम डेनी डेङजोपा अभिनित फिल्मसँग मिल्ने भए पनि यो फिल्म त्यो ‘साइनो’को रिमेक नरहेको बताइन् । रमेश थापाले निर्देशन गर्ने फिल्मको छायांकन सोमबारबाट सुरु हुनेछ । निर्देशक थापाले त्रिकोणात्मक प्रेमकथामा फिल्म निर्माण हुने भएकाले पहिलेको ‘साइनो’सँग अहिलेको ‘साइनो’ नमिल्ने दाबी गरे । ‘अहिलेको कथा त्रिकोणात्मक सामाजिक प्रेमकथा हो ’ उनले भने ।
सोमवारबाट छायांकन सुरु हुने फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरूको अभिनय रहनेछ । राजकुमार यही फिल्ममार्फत नायकको रुपमा ‘डेब्यु’ गर्दैछन् ।
कार्यक्रममा अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्रीको फिल्ममा आफू आबद्ध हुनु पाउनु खुशीको कुरा रहेको बताउँदै आफूलाई दिएको भूमिकामा न्याय गर्ने बताइन् । भारतमा बस्दै आएका राजकुमारले अभिनय सिकाउन नेपाल आएपनि चरित्र मन परेका कारण ‘साइनो’मा अभिनय गरेको बताए । शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा अभिमन्यू निरबीको लेखन, रामेश्वर कार्कीको छायांकन, वनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र रोशनविक्रम भट्टराईको द्वन्द्व छ । फिल्म काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकमा छायांकन गरिनेछ ।